नियम १३०
बिरामी बिदा
: (१) सशस्त्र प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारी असक्त बिरामी भई सञ्चित बिरामी बिदाले नपुग्ने भएमा निजलाई बढीमा बाह्र दिन सम्मको पेश्की बिरामी बिदा दिन सकिनेछ ।
(३) सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्ने सशस्त्र प्रहरी कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ । तर त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव थिएन भन्ने बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र बिना नै उक्त बिदा स्वीकृत गर्न सक्नेछ ।
(४) सशस्त्र प्रहरी कर्मचारीले आफूले पकाएको बिरामी बिदा सञ्चित गरी राख्न पाउनेछ ।
(५) सशस्त्र प्रहरी कर्मचारी कुनै कारणले सेवाबाट अलग भएमा सञ्चित रहेको बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाइ आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट रुपमा लिन पाउनेछ ।
(६) सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिदाको रकम नियम ७४ को उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
(७) कुनै सशस्त्र प्रहरी कर्मचारी लामो समय बिरामी भई नियम १२९ को उपनियम (७) बमोजिम पाउने पेश्की घर बिदाले समेत नपुग्ने भएमा बढीमा एक वर्षसम्म बिशेष बिरामी बिदा दिन सकिनेछ ।
(८) उपनियम (७) बमोजिम लगातार बिशेष बिरामी बिदा लिने सशस्त्र प्रहरी कर्मचारीले पहिलो तीन महिना खाइपाइ आएको पूरा तलब भत्ता र रासन, त्यसपछिको छ महिना आधा तलब भत्ता र रासन पाउनेछ र सो अवधि पछिको तलब भत्ता र रासन पाउने छैन ।
(९) उपनियम (७) बमोजिम लगातार एक वर्षसम्म विशेष बिरामी बिदामा बस्दा पनि आफ्नो कर्तव्य पालन गर्न नसक्ने ठहरिएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई सेवाबाट मुक्त गरिनेछ ।
(१०) कर्तव्य पालन गर्दा बिरामी वा घाईते भएको सशस्त्र प्रहरी कर्मचारीले निको नभएसम्म पूरा तलबी बिशेष बिरामी बिदा पाउनेछ । यस्तो बिदामा बसेको सशस्त्र प्रहरी कर्मचारी निको भईसकेपछि पनि कर्तव्य गर्न नसक्ने ठहरिएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई सेवाबाट मुक्त गरिनेछ ।
(११)  कुनै सशस्त्र प्रहरी कर्मचारी बिरामी परेको भन्ने प्रतिवेदन परेमा बिरामी परेको हो वा होईन जाँच्नको लागि चिकित्सक खटाउन सकिनेछ ।
(१२) बिरामी बिदा लिएको सशस्त्र प्रहरी कर्मचारीलाई बिरामी निको भई काम गर्ने सक्ने भनी सम्बन्धित कार्यालयले खटाएको चिकित्सकले सिफारिस नगरेसम्म निजलाई सरकारी काममा लगाउनु हुँदैन ।
(१३) निलम्बन रहेको सशस्त्र प्रहरी कर्मचारीले सो अवधिभरको बिरामी बिदा पाउने    छैन ।
(१४) उपनियम (८) को अवस्थामा बाहेक बिरामी बिदामा बसेको सशस्त्र प्रहरी कर्मचारीले सो अवधिको पुरा तलब भत्ता र रासन पाउनेछ ।